सातै प्रदेशकाे मुख्यमन्त्रीमा क-कस्काे दावी ?

 पुष १६, २०७

सत्तारूढ दलहरूबीच समग्र शक्ति बाँडफाँड बाँकी रहे पनि मुख्यमन्त्रीका आकांक्षीको सूची साँघुरिँदै गएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच प्रदेशको नेतृत्वलाई लिएर प्रारम्भिक समझदारी बनेलगत्तै आकांक्षीको सूची साँघुरो भएको हो । यद्यपि, समझदारीले भने अन्तिम रूप पाइसकेको छैन ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच एमालेले चार, माओवादीले दुई तथा जसपा र जनमत पार्टीले एउटा प्रदेशमा आलोपालो नेतृत्व लिने प्रारम्भिक समझदारी छ । राप्रपाले मुख्यमन्त्रीमा दाबी गर्ने–नगर्ने तय भइसकेको छैन । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले शीर्ष नेताहरू सम्मिलित राजनीतिक संयन्त्रको शुक्रबार बस्ने बैठकले मुख्यमन्त्रीको बाँडफाँड टुंग्याउने बताए ।
प्रचण्ड र ओलीबीचको समझदारीअनुसार एमालेले प्रदेश १, गण्डकी तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये दुई प्रदेशमा मुख्यमन्त्री लिनेछ । त्यस्तै, माओवादीले सुदूरपश्चिम तथा कर्णाली, बागमती र लुम्बिनीमध्ये एक प्रदेशको नेतृत्व लिनेछ । मधेसमा भने जसपा र जनमत पार्टीको दाबी रहेकाले उनीहरूलाई आलोपालो नेतृत्व दिने समझदारी छ ।
एमालेका तीनजना स्थायी कमिटी सदस्य प्रदेश संसदीय दलको नेता चयन भएकाले उनीहरू मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । स्थायी कमिटी सदस्यहरू प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यामलाल कँडेल दलको नेता भएका छन् । बागमतीमा एमाले संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् । लुम्बिनीमा एमालेबाट लीला गिरी मुख्यमन्त्रीका दाबेदार छन् । यद्यपि, लुम्बिनीमा दलको नेता चयन हुन बाँकी छ ।

एमाले सचिव रघुवीर महासेठले मुख्यमन्त्रीको विषय शीर्ष तहमा टुंगिन बाँकी रहेको बताए । उनले अब बैठक बसेर निर्णय लिइने बताए । ‘सिनियर नेताले मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक हो । उहाँहरूको दाबी आइरहेका छन् । तर, कहाँ को मुख्यमन्त्री बन्ने भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने ।
माओवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पाउने करिब निश्चित छ । सुदूरपश्चिममा माओवादीका खगराज भट्ट मुख्यमन्त्रीका एक्ला दाबेदार छन् । नागरिक उन्मुक्ति पार्टी सरकार गठनमा निर्णायक रहेकाले सुदूरपश्चिममा उसको पनि दाबी रहनेछ । रामेश्वर चौधरी उन्मुक्तिका दलको नेता चयन भएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी रहने बताइन् ।
प्रदेश १ मा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका छन् । बागमतीमा शालिकराम जम्कट्टेल, गंगा श्रेष्ठ, सरल सहयात्री र युवराज दुलाल मुख्यमन्त्रीका दाबेदार छन् । यहाँ दलको नेता चयन गर्न बाँकी छ ।
लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा दाबेदार छन् । बागमती र लुम्बिनीमध्ये कुन प्रदेश कुन दलले लिने भन्ने टुंगो लागिसकेको छैन । कर्णालीमा माओवादीबाट दलका नेता रामकुमार शर्मा दाबेदार छन् । कर्णालीमा स्थायी कमिटी सदस्य संसदीय दलको नेता भएकाले मुख्यमन्त्री पाउनुपर्ने दाबी एमालेको छ । एमाले दलका नेता कँडेल यसअघि पटक–पटक मुख्यमन्त्री हुन चाहे पनि असफल भएका थिए । माओवादीले भने प्रदेशमा सबैभन्दा बढी भोट कर्णालीमा ल्याएकाले मुख्यमन्त्री नछाड्ने अडान लिएको छ ।

सत्तारूढ गठबन्धन भएकाले मधेस प्रदेश मधेसका दललाई दिने समझदारी छ । जसपा र जनमत पार्टीले मधेस प्रदेशको नेतृत्व आलोपालो गर्ने तयारी छ । दुवै दलले संसदीय दलको नेता चयन गरेका छैनन् । यहाँ जसपाबाट लालबाबु राउत, सरोजकुमार यादव र मनीष सुमन मुख्यमन्त्रीका दाबेदार छन् । जनमत पार्टीबाट चन्दन सिंह र सतिशकुमार सिंह मुख्यमन्त्रीका दाबेदार छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय