पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै, पर्वतका १० जनाको ज्यान गुमाए

 माघ ०२, २०७

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
    
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए ।
    
सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ । 
यस्तै विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।
    
मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी   कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा –९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा–१ पाङकी रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो । 
त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका  विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहनुभएका छ । शर्मा परिवारमा आमा, छोरा, नाती र नातिनी एउटै विमान दुर्घनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरु यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए । 
दुर्घटनामा ज्यान गुमाउने कुश्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आउँदै गरेको बुझिएको छ । काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने  प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । “छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ”, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भन्नुभयो, “उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।” केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धीको शवको पहिचान गर्नुभएको थियो । पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । 
दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय