विकासमा पिछडिएको नरैनापुर
देशकै उत्कृष्ट गाउँपालिका घोषणा

 फागुन ०, २०७

नेपालगन्ज : बाँकेको नरैनापुर विकासमा पछि परेको गाउँपालिका हो । अहिले पनि नरैनापुरलाई विकासका हिसाबले जिल्लाको ‘कर्णाली’ भन्ने गरिन्छ । तर, अहिले नरैनापुर देशकै उत्कृष्ट गाउँपालिका घोषणा भएको छ । देशभरका ७ सय ५३ वटा स्थानीय तहको कार्य सम्पादन मूल्यांकनका आधारमा नरैनापुर उत्कृष्ट भएको हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुन ३ मा सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकन नतिजा अनुसार नरैनापुर देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा मूल्यांकन गरेको थियो । कार्य सम्पादन मूल्यांकनमा नरैनापुरले ७८.५१ अंक प्राप्त गरेको छ ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जनप्रतिनिधि र कर्मचारीको कार्यप्रतिको लगावले नरैनापुरले यो नतिजा हासिल गर्न सफल भएको बताए । कार्य सम्पादनमा नरैनापुर गाउँपालिकालाई उत्कृष्ट बनाउन सबै स्थानीय जनप्रतिनिधि र कर्मचारीको मिहिनेत रहेको गाउँपालिका अध्यक्ष शाहले बताए । ‘यो समाज आफैंमा सजिलो समाज होइन, भाषा र जातजातिका हिसाबले मिश्रित समाज छ । काम बुझाउन सजिलो छैन,’ उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले आज नरैनापुर देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ ।’

नरैनापुर आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ । मुस्लिम र हिन्दु बाहुल्य रहेको सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार जकडिएर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । ‘यस वर्ष पानी नै नपरेर गाउँपालिकामा धान उत्पादन राम्रो भएन,’ उनले भने, ‘जिल्लाका अन्य पालिकाहरूको हिसाबले नरैनापुर निकै अभाव र संटग्रस्त क्षेत्र हो ।’ प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए । जनताको आवश्यकतालाई मध्यनजर गरेर नतिजामुखी काम गरेकाले नै यो प्रतिफल आएको लेखापाल प्रकाश अधिकारीले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय