अल्पमत प्रमाणित भए एक मिनेट पनि पदमा बस्दिनँ: मुख्यमन्त्री गिरी

 चैत २०, २०७

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अल्पमत प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने बताएका छन् । 

सोमबार दाङको तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले आफूविरुद्ध प्रदेशसभामा बहुमत पुगे सरकारमा एक मिनेट पनि नबस्ने बताएका हुन् ।  उनले आफू अल्पमतमा परेको विषय संसदमा परीक्षण हुन बाँकी रहेको र प्रमाणित भए सरकारमा नबस्ने बताए ।

मुख्यमन्त्री गिरीले आफू अल्पमतमा परेको प्रमाणित भए पनि संविधानको धारा १६८ (३) अनुसार त्यसपछि नयाँ सरकार गठन हुनुपर्ने आफूहरूको दाबी रहने बताए । ‘प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नु हुन्छ त्यो अलग कुरा हो,’ उनले भने, ‘तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार संविधानको धारा १६८ (३) अनुरुप गठन हुनुपर्छ भन्ने रहन्छ,’ उनले भने । एमाले लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो हो ।

यसअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत १२ मा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिम ५३ जनाको सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । योसँगै मुख्यमन्त्री गिरी अल्पमतमा परिसकेका छन् । 

तर, संवैधानिक व्यवस्था अनुसार कुनै दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार मुख्यमन्त्री गिरीले संसद फेस गर्ने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय