कोहलपुरको त्यो क्रूर सामूहिक बलात्कार, १३ वर्षपछि अभियुक्त पक्राउ

 असार २२, २०८०

काठमाडौँ\सामूहिक बलात्कारका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । १३ वर्षअघि कोहलपुरमा भएको क्रूर बलात्कार घटनाका अभियुक्त १३ वर्षपछि पक्राउ परेका हुन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दाङको साविक उरहरी गाविस –८ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय नविन बस्नेतलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनलाई सीआईबीले असार १७ गते सार्वजनिक गरेको थियो ।उनीसहित घटनामा संलग्न १० जनालाई जिल्ला अदालत दाङले २०६८ असार २६ गते दोषी ठहर गरेको थियो । तर,  पुनरावेदन अदालत तुलसीपुरले २०६९ जेठ २ गते फैसलालाई उल्टएको थियो ।

पछि सर्वोच्च अदालतले २०७९ जेठ १० गते उनलाई ६ वर्ष कैद फैसला सुनाएको थियो । सर्वोच्च अदालतमा २०६९ पुष २४ गते मुद्दा दायर भएको थियो । बस्नेत १३ वर्षदेखि फरार थिए । सामूहिक बलात्कारमा उनीसहित १० जना संलग्न थिए । बाँकी ९ जना भने केही कारागारमा छन् भने केही सजाय काटेर थुनामुक्त भएका छन् ।

यस्तो थियो घटना 

२०६७ सालमा असार १५ गते १८ वर्षीय लक्ष्मी शाही (नाम परिर्वतन) पढ्न रुकुम चुनवाङ्गबाट आफ्ना दाजु मदन (नाम परिवर्तन)सँग कोहलपुर हिँडिन् । उनीहरू तुलसीपुरको नयाँ बसपार्कस्थित न्यू राप्ती होटलको कोठा नम्बर २ मा बसे । खाना खाएर राति करिब साढे १० बजे दाजु बहिनी सुत्न लागेका थिए ।

नजिकै कोठामा केही व्यक्तिहरूले मादक पदार्थ सेवन गरेर होहल्ला गरिरहेका थिए । केही समयपछि ती व्यक्तिहरूले उनीहरूको कोठामा लात्ती हानेको लक्ष्मीले दिएको जाहेरीमा उल्लेख छ । निकैबेर ढोकामा हानेपछि दाजु मदनले ढोका खोले । खोल्नेवित्तिकै उनीहरूले दाइलाई कुटपिट गर्न थाले । त्यसपछि लक्ष्मीलाई जबरजस्ती उठाएर त्यहाँबाट लगे । जसमा पाँच जना थिए ।

उनीहरूले लक्ष्मीलाई तुलसीपुर नगरपालिका ५ र ९ को बीचमा पर्ने पातुखोलाको बगरमा लगेर सामूहिक बलात्कार गरे । लक्ष्मीलाई अचेत छोडेर उनीहरू त्यहाँबाट भागेका थिए । होटल साहुमार्फत् प्रहरीले घटनामा संलग्न भनिएका राजेश, सुरेशलगायको खोजी शुरू गर्‍यो । अनुसन्धान गर्दै जाँदा घटनामा सुनिल वली, नविन बस्नेत, याद टण्डनलगायत पनि संलग्न रहेको पुष्टि गर्‍यो ।

त्यसपछि दाङका सचिन योगी, कुष्ण सागर वली, मिकेतन गिरी, बुद्धि प्रकाश केसी, नविन बस्नेत, सुनिल वली, यादव टेण्डन खत्री, चन्द्र बुढामगर, शुरेश केसी र राजिव कोइरालाले बलात्कार गरेका तथ्य खुल्यो । त्यो बेलादेखि नविन बस्नेत फरार भएका थिए । उनीहरूले क्रुर तरिकाले बलात्कार गरेका थिए । प्रहरीका अनुसार लक्ष्मीको दाहिने भागभरि चिथोरिको थियो । मलद्वार र यौनाङ्गको वरिपरि धेरै निलडाम र घाउहरू थिए ।

मेडिकल रिपोर्टअनुसार उनी त्यतिबेला महिनावारी भएकी थिइन् । सर्वोच्च अदालतले त्यसलाई पनि आधार मानेर फैसला गरेको छ । फेसलामा भनिएको छ– ‘मासिक रक्तश्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिक श्राबको बेलामा पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमाजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनु पर्दछ ।’ अदालतले त्यसैका आधारमा प्रतिवादीहरूलाई दुई, ६ वर्ष र १६ वर्षा कैद सुनाएको थियो । बस्नेतलाई ६ वर्ष कैद सुनाइएको थियो ।अदालतले पीडितलाई प्रतिव्यक्ति ५० हजारका दरलेक्षतिपूर्ति र पीडित राहतकोषबाट ५ लाख दिन आदेश दिएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय