जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

 माघ २०, २०७

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिका स्तरीय ५औं अध्यक्ष कप प्रतियोगिता आजदेखि सुरु भएको छ ।

जानकी गाउँपालिका वडा नम्वर–३ मानपुरस्थित श्री नेपाल राष्ट्रिय प्रावि खेल मैदानमा १५औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा ५औं अध्यक्ष कप प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको  प्रमुख अतिथी संघीय सांसद किशोरसिंह राठौर, विशिष्ट अतिथी लुम्विनी प्रदेशसभा सदस्य बादशाह कुर्मी तथा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौरले विद्यालयस्तरको विद्यार्थी जीवन अत्यन्तै महत्वपूर्ण जीवन भएकाले यसलाई सार्थक बनाउन खेलकुद क्षेत्रमा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले जानकी गाउँपालिकामा अहिलेसम्म कक्षा १२ सम्मको विद्यालय नहुनु दुःखको विषय भएको भन्दै सबै मिलेर कक्षा १२ सम्मको पढाई सुरु गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । यसका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले वालवालिकालाई पढाईमा अनुशासित बन्दै खेलतिर पनि ध्यान केन्द्रित गर्न जरुरी रहेको समेत बताए ।

लुम्बिनी प्रदेश सांसद कुर्मीले कक्षा १२ सम्मको पढाई सञ्चालन गर्न लुम्विनी प्रदेशबाट आफूले सक्ने सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । गाउँपालिका अध्यक्ष खाँले छोरीहरुको शिक्षालाई विशेष प्राथमिकता दिँदै प्रतियोगिता भएकै ठाउँमा कन्या विद्यालय बनाउन पालिका लागिसकेको बताएका छन् । आउने वर्ष कन्या विद्यालय सञ्चालनमा आउने उनको भनाई छ । उनले शिक्षा तथा खेलकुद दुवैको माध्यमबाट आगामी दिनमा थप सन्देशहरु दिन सक्ने गरी यस कार्यक्रमबाट सबैले शिक्षा लिनुपर्ने धारणा समेत राखेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले खेलकुद प्रतियोगितालाई अझै थप व्यवस्थित र भव्य वनाउन, खेलकुदको माध्यमबाट पालिकाको विकासलाई अगाडि बढाउन तथा पालिकाको नाम उच्च राख्नको लागि पालिका अध्यक्ष लगायत सम्पूर्ण टिम प्रयासरत रहने बताए । 

आज पहिलो दिन छात्रातर्फ व्राइटस्टार र शिवपुरी, बञ्जाडेगाउँ र जोगागाउँ तथा भाटनपुर र बालविकासबीच कवड्डी  खेल भएको थियो । त्यसै गरेर भलिवल छात्रतर्फ भाटनपुर र बालविकास , शिवपुरी र बञ्जाडेगाउँ तथा जोगागाउँ र जानकीबीच भलिवल खेल भएको थियो ।  

जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा गाउँपालिका अन्तर्गतका रहेका ४५ वटा विद्यालय मध्ये ३८ विद्यालय सहभागी छन् । प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने शिक्षा शाखा प्रमुख कृष्णाकुमारी भण्डारीले बताइन् ।

कार्यक्रममा १ देखि ६ नम्वर वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु लगायत पालिकाका कर्मचारीहरुको र शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय