बागेश्वरीमा जुँगे महादेव मूर्ति भएको मन्दिर पुनः निर्माण गरिँदै

 चैत २७, २०७

बाँके : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि टेण्डर आह्वान गरी काम शुरु भएको हो ।

जुँगे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि छ । मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम शुरु गरिएको जानकारी दिए ।

मन्दिरसम्म पुग्नका लागि वर्षौँ पहिले बनाइएको प्रवेश मार्ग जीर्ण भएपछि उप–महानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । “अहिले मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने छ,” नगर प्रमुख विष्टले भने, “मन्दिरभित्रको पूजा गर्ने स्थान पनि फराकिलो हुनेछ ।”

नयाँ संरचना निर्माण भएपनि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने उप–महानगरपालिकाले जनाएको छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालकोबीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनहरूको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहजता हुने भएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय