स्वास्थ्यमन्त्री गिरीद्वारा बाँकेको दादुरा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन
नेपालगञ्ज: बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्थलगत अनुगमन गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उनले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए। उनले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गरे।
मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गरे। मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखाप्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी थिए।
तपाईंको प्रतिक्रिया