भेरी अस्पतालमा कमिशन खाने ४ कर्मचारी सहित १५ जनालाई कैद
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा बिभिन्न समान तथा औषधी खरिद बिक्रीको क्रममा कमिशन बापतको घुस खाने र दिने दुबैलाई बिशेष अदालतले कैद र बिगो जरिवानाको फैसला सुनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा कार्यरत घुस खाने ४ जना कर्मचारी सहित घुस खुवाउने निजी फर्महरुका ११ जना व्यापारी गरी १५ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ साल असोज २२ गते बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले अस्पतालमा भएको भ्रष्टाचार काण्डमा करिब २ वर्षपछि गरेको फैसलामा अख्तियारको माग दाबी रहेको कुल १७ लाख ८० हजार ४ सय ७५ रुपैयाँलाई अस्पतालका मुख्य ४ जना अभिुक्त रहेका पूर्व कर्मचारीहरु भेरी अस्पताल, नेपालगञ्जका लेखा अधिकृत माधव प्रसाद आचार्य, कम्प्युटर अप्रेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सह–लेखापाल प्रेम बहादुर खत्रीलाई बिगो माग दाबी रकम ४ भाग लगाई ७/७ महिना कैद सजायको फैसला सुनाएको छ ।
बिशेष अदालतले बरामदी मुचुल्का, अनुसन्धानका क्रममा भएको साबिती बयान, अरुण खनालले गुगल ड्राइभमा सुरक्षित राखेको कमिसनको विवरण, अदालतलमा गरेको बकपत्र लगायतलाई प्रमाण मान्दै यस्तो फैसला गरेको जनाएको छ ।
विशेष अदालतका अनुसार अस्पतालका ति ४ जना कर्मचारीलाई जनही ४ लाख ४५ हजार १ सय १८ रुपैयाँ बिगो र ७/७ महिना कैद हुने फैसला गरेको छ ।
तपाईंको प्रतिक्रिया